काठमाडौं/
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमिति बाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउनेछन् ।निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए । उहाँले वडा तहको अधिवेशन असोज ३ र ४ गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनुभयो ।केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाण्डौको खुला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यहीँ आयोजना गर्ने निर्णय भएको छ । महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद, सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको चालिसेले बताउनुभयो । कांग्रेसले असोज १६ देखि १९ सम्म १५औँ महाधिवेशनको मिति तोकेको छ ।






