काठमाडौं /
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज ४ वटा दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ।दोस्रो लाम जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको कोषका सञ्चालक परिषद् सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक सङ्गीताकुमारी रामले जानकारी दिए।यसैगरी, तेस्रो लाम सिनामङ्गल, एयरपोर्टतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राममन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको र्याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रबन्ध मिलाइएको उनले बताए। पिङ्गलास्थानतर्फबाट पाल्नुहुने दर्शनार्थी भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिबाट फर्कने प्रबन्ध मिलाइएको छ।जुत्ताचप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडा मुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मती पारि राममन्दिरको मुनिलगायत स्थान छुट्याइएको छ। नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ। सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ।दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिनेछ।






