काठमाडौं/
भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ ।नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिनुभयो ।
शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहुने गरी सुक्ष्म रूपमा परीक्षण कार्य अघि बढाइएको छ । नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन् । प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटारस्थित प्रयोगशालामा भारतीय र चिनियाँ टोलीले सघाइरहेका छन् ।डिएनए परीक्षणका लागि चार वटा मेसिन सञ्चालन गरिएको छ । सो मेसिनले आवश्यक तयारीपश्चात ९० मिनेटमा एउटा नतिजा निकाल्छ । अर्को नमुनाको परीक्षणका लागि सो मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने हुन्छ ।मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा राखेर ७२ घण्टापछि मात्रै प्रक्रियामा लगिन्छ । शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।






