काठमाडौं/
सांसदहरुले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानविन गर्दै दोषिमाथि कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा उनीहरुले पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेपछि फुटपाथमै बच्चा जन्माएको घटनाको छानविन गर्दै दोषिमाथि कारवाही गर्न माग गरेका हुन् ।बैठकमा सांसद खगेन्द्र कर्णले पैसाको अभावका कारण उपचार नपाएपछि महिलाले अस्पताल कम्पाउन्ड बाहिर सडकमै बच्चा जन्माउनु परेको घटनाको छानविन गरि दोषिमाथि कारवाही गर्न माग गर्नुभयो । विपन्न, दलित तथा गरिब नागरिकको भरोसाको केन्द्र मानिने सरकारी अस्पतालमै केही सय रुपैयाँको अभावमा सुत्केरी महिला सडकमा पुग्नुले राज्यको स्वास्थ्य प्रणाली र दाबीको वास्तविक कमजोरी उदाङ्गो पारेको उहाले बताउनुभयो । उहाले यस अमानवीय तथा संवेदनशील घटनाप्रति स्वास्थ्य मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य विवरण तत्काल संसद्मा जानकारी गराउन र दोषीमाथि छानबिन गर्न माग गर्नुभयो ।त्यस्तै सांसद सांसद अंकिता ठाकुरले पैसा नभएकै कारण गरिब महिलाले सन्तान जन्माउने र आमा बन्ने अधिकारसमेत गुमाउनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगेकी महिलालाई उपचार सुरु गर्नुको सट्टा अस्पताल प्रशासनले पैसाको मोलमोलाइ गरेको र पैसा नभएकै कारण चिसो र धुलाम्य सडकमा निकालिदिएको उहाले बताउनुभयो ।उहाले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको भए पनि गरिब जनताले सरकारी अस्पतालमै प्रसूति सेवा नपाएर सडकमा पुग्नुले संविधान र लोकतन्त्रकै उपहास भएको उल्लेख गर्नुभयो ।अस्पतालले भर्ना नलिएपछि राजविराज नगरपालिका वडा नं. १४ निवासी गर्भवती महिला बबिता कुमारी पासवानले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनको विरोध भइरहेको छ ।






