अलजजीरा/
सन् २०२६ को अमेरिकी मध्यावधि चुनाव देशको इतिहासमै सबैभन्दा महँगो हुने देखिएको छ । विज्ञापन अनुगमन गर्ने संस्था ‘एडइम्प्याक्ट’ का अनुसार राजनीतिक विज्ञापनमा गरिने खर्च मात्रै ११।६ अर्ब अमेरिकी डलर अर्थात् १७ खर्ब ६९ अर्ब रुपैयाँभन्दा धेरै पुग्ने अनुमान गरिएको छ । यो रकम सन् २०२४ को राष्ट्रपतीय चुनावसहित विगतका कुनै पनि चुनाव चक्रको तुलनामा धेरै हो ।प्रविधि, एआई र क्रिप्टोकरेन्सी क्षेत्रका दाताले आफ्नो उद्योगमा सरकारी नियमन खुकुलो बनाउने र आफू अनुकूल नीति निर्माण गर्ने राजनीतिक उम्मेदवारलाई जिताउन ठूलो रकम चन्दा दिइरहेका छन् ।यसैबीच समाचार संस्था अलजजीराले आउँदो नोभेम्बर ३ को मतदानअघि सबैभन्दा धेरै चन्दा दिने व्यक्ति तथा कम्पनीहरू पत्ता लगाउन सङ्घीय निर्वाचन आयोगको तथ्याङ्क प्रयोग गरेको छ । अमेरिकी राष्ट्रपतिको चार वर्षे कार्यकालको ठीक आधा अर्थात् दुई वर्ष पूरा भएपछि मध्यावधि चुनाव हुने गर्छ ।सन् २०२६ को मध्यावधि चुनाव चक्रमा ५० सबैभन्दा ठूला दाता र संस्थाहरूले अहिलेसम्म कुल २।७७ अर्ब अमेरिकी डलर अर्थात् ४ खर्ब २२ अर्ब रुपैयाँभन्दा धेरै योगदान गरेका छन् । रिपब्लिकन पक्षधर दाताहरूबाट १।६७ अर्ब डलर अर्थात् कुल चन्दाको झन्डै ६० प्रतिशत प्राप्त भएको छ । यो डेमोक्र्याटिक पक्षधर दाताहरूबाट प्राप्त ८३२ मिलियन डलर अर्थात् ३० प्रतिशतको तुलनामा दोब्बर हो ।





