काठमाडौं /
गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले दुःख व्यक्त गर्नुभएको छ । उहाँले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमप्रति सचेत रहन, सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ ।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति थापाले बाढीका कारण न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा जुट्न पनि सभापति थापाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।बाढी प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकले आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।






