काठमाडौँ/
काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्णरूपमा अस्तव्यस्त बनेको छ।राजमार्ग बन्द भएपछि गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमै रोकिएका छन्। हप्तौंअघि लाइन बसेर वा अनलाइनमार्फत अग्रिम टिकट बुक गरेर बसपार्क पुगेका हजारौं यात्रु गाडी समयमै नछुट्दा र बाटो खुल्ने निश्चित नहुँदा अन्योल र मर्कामा परेका छन्। सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारीको चाप बढेपछि कलंकी, नागढुंगा क्षेत्रसम्म नै सवारीसाधनको लामो लाइन लागेको छ।वर्षभरिको थकाइ र सहरी जीवनको व्यस्तता भुलेर गाउँघरमा खुसी साट्न निस्किएका सर्वसाधारणका लागि यस वर्षको यात्रा निकै सकसपूर्ण, खर्चिलो र अनिश्चित बनेको छ। पृथ्वी राजमार्ग ठप्प भएपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ र नौबिसे–पालुङ हुँदै जाने त्रिभुवन राजपथलाई प्रयोग गरिएको थियो।तर, साना र साँघुरा यी वैकल्पिक सडकहरूमा क्षमताभन्दा कैयौं गुणा बढी सवारीसाधनको चाप बढेपछि ती मार्गहरूमा समेत घण्टौंसम्म गाडीहरूको लामो लाइन लाग्ने गरेको छ। वैकल्पिक मार्गमा पनि समस्या उत्पन्न भएपछि प्रहरी र बसपार्क व्यवस्थापनले नयाँ बसपार्कबाट छुट्ने गाडीहरूलाई भित्रै ’होल्ड’ गर्न बाध्य भएको छ।सडक मार्गको दुरावस्था र पहिरोको जोखिमका कारण यस वर्ष हवाई यात्रातर्फ यात्रुको आकर्षण झनै बढेको छ। दसैं अवधिभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट करिब ३० हजारदेखि ५० हजार यात्रुले काठमाडौं छाड्ने अनुमान छ। बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतका कम्पनीहरूले दैनिक ३ सयभन्दा बढी उडान भरिरहेका छन्।तर, प्रमुख गन्तव्यका अधिकांश उडानका टिकटहरू पूर्णरूपमा बुकिङ भइसकेका छन्। उडानको माग उच्च र सिट सीमित भएकाले एयरलाइन्सहरूले सरकारले तोकेको अधिकतम सीमामा टिकट बिक्री गर्दा सामान्य नागरिकका लागि हवाई यात्रा महँगो बनेको छ।






