काठमाडौं/
आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको छ । यससँगै चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा रहेका चारवटा पुल बगाएको छ । बाढीका कारण आरुघाट र धादिङ जोड्ने मोटरेबल पुलसमेत क्षतिग्रस्त भएको छ ।त्यस्तै, धार्चे गाउँपालिका–५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ तथा ३ लाई जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको जनाइएको छ । पुलहरू बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित भएको छ । बाढीबाट भएको थप क्षतिको विवरण आउन बाँकी छ । बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकीमा आएको बाढीले मुग्लिङसम्म उच्च जोखिममा रहेको जनाएको छ । महाशाखाले सूचना जारी गर्दै मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।






