काठमाडौं/
अपाङ्गता भएका व्यक्तिका लागि लक्षित इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ। काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखेको छ। कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो।‘ स्वावलम्बन कर्जा’मार्फत योग्य अपाङ्गता भएका व्यक्तिहरूले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्। यस सुविधाअन्तर्गत रु। १० हजारदेखि रु २ लाखसम्म कर्जा लिन सकिनेछ । कर्जाको ब्याजदर वार्षिक ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत रहेको छ। योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।






