काठमाडौं /
लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।राष्ट्रिय जेन्जी नागरिक अभियान, तामाङ नागरिक समाज, गुम्बा बिहार संरक्षण कोष र लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाउ संघर्ष समितिले संयुक्त रूपमा विरोधसभा गरेका हुन्। प्रदर्शनकारीले आनी छोइङको नागरिकतासम्बन्धी विवादमा सरकारले तत्काल छानबिन गर्नुपर्ने र आरोप पुष्टि भए नियुक्ति खारेज गरी तामाङ समुदायबाट अर्को व्यक्तिलाई उपाध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। आरोप गलत ठहरिए आरोप लगाउनेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको माग छ। 

उनको नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला नियुक्ति गरिएको भन्दै विरोध भएको हो। सन् २०१९ मा हङकङबाट १६ लाख ४९ हजार ९४० अमेरिकी डलर नेपाल भित्रिएको विषयमा प्रश्न उठाउँदै त्यसको स्रोत र वित्तीय पारदर्शिताबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन, उक्त रकमको विषयमा विगतमा बैंक खाता रोक्का गरी अनुसन्धान अघि बढाइएको थियो। यी आरोप र दाबीबारे सम्बन्धित निकायको निष्कर्ष भने सार्वजनिक विवरणबाट स्पष्ट हुँदैन। प्रदर्शनकारीले आनी छोइङको नियुक्तिसम्बन्धी विवाद निष्पक्ष रूपमा टुंग्याउन र लुम्बिनी विकास कोषको नेतृत्व चयनमा स्थानीय समुदायको भावना तथा सम्पदा संरक्षणको विषयलाई ध्यान दिन सरकारसँग माग गरेका छन्।





