डोलेन्द्र थापा
काठमाडौं/

आज चिया पसलदेखि संसदसम्म एउटै चर्चा छ – आर्टिफिसियल इन्टेलिजेन्स (एआई)। कसैले भन्छन्, “एआईले मान्छेको जागिर खान्छ”, कसैले भन्छन्, “एआई त भविष्य हो”। वास्तवमा सत्य के हो ? एआई समाजका लागि खतरा हो कि वरदान ? पहिला खतराको कुरा गरौं, पछिल्लो समयमा रास्वपा सांसद खगेन्द्र सुनारको भनिएको अडियो काण्डले एउटा ठूलो प्रश्न उठाएको छ। अपराधीले आफ्नो अपराध लुकाउन “यो एआईले बनाएको हो” भन्न थालेका छन्। यो सबैभन्दा ठूलो खतरा हो। भोलि कुनै प्रमाणलाई नै विश्वास गर्न नसकिने अवस्था आउन सक्छ। यसलाई ‘विश्वासको संकट’ भनिन्छ।दोस्रो खतरा, डीपफेक। अहिले टिकटकमा नेताहरूले नबोलेको कुरा बोलेको जस्तो भिडियो बनाइन्छ, कसैको अनुहार जोडेर अश्लील भिडियो बनाइदिने घटनाहरू बढेका छन्। यसले व्यक्तिको चरित्र हत्या गर्छ, समाजमा द्वन्द्व ल्याउँछ। काभ्रेको एउटा सोझो मान्छेको फोटो दुरुपयोग भयो भने उसले कहाँ गएर न्याय खोज्ने? विद्यार्थीले गृहकार्य एआईबाट सार्न थाले, पत्रकारले समाचार नै एआईबाट लेख्न थाले भने हाम्रो आफ्नै सोच्ने क्षमता सकिन्छ तर एआईलाई सही तरिकाले प्रयोग गर्ने हो भने यो समाजका लागि सबैभन्दा ठूलो उपयोगी औजार बन्छ।किसानका लागि एआई कृषि विज्ञ हो। आफ्नो बालीमा लागेको रोगको फोटो खिचेर सोध्दा तुरुन्तै उपचार बताइदिन्छ।

कुन बेला पानी पर्छ, कुन बाली लगाउँदा फाइदा हुन्छ, एआईले सटीक जानकारी दिन्छ। अब काभ्रेको किसानले सल्लाह लिन हेटौंडा धाउनु पर्दैन। विद्यार्थीका लागि एआई निशुल्क ट्युसन शिक्षक हो। दुर्गम गाउँको एउटा गरिब विद्यार्थीले पनि काठमाडौंको महँगो कलेजमा पढाइने कुरा एआईसँग नेपालीमै सोध्न सक्छ। भाषाको बाधा हटेको छ।हामी पत्रकारका लागि एआई सबैभन्दा ठूलो सहायक हो। घण्टौंसम्मको भाषणलाई दुई मिनेटमा सारांश बनाइदिन्छ, झुटा खबर पत्ता लगाउन मद्दत गर्छ, हाम्रो समाचारलाई विश्वभर पुर्याउन अनुवाद गरिदिन्छ। यसले हाम्रो समय बचाउँछ, हामीलाई अझ खोजमूलक पत्रकारिता गर्न प्रेरित गर्छ।स्वास्थ्य क्षेत्रमा त एआईले क्रान्ति नै ल्याएको छ। गाउँको स्वास्थ्य चौकीमा डाक्टर नहुँदा पनि एआईले प्रारम्भिक लक्षण हेरेर सल्लाह दिन सक्छ।अन्त्यमा, एआई आफैमा न खतरा हो, न उपयोगी। यो एउटा चक्कु जस्तै हो। चक्कुले तरकारी काटेर भोक मेटाउन पनि सकिन्छ, मान्छे मार्न पनि सकिन्छ। प्रयोग गर्ने हाम्रो नियतमा भर पर्छ। समाजले एआईसँग डराएर होइन, एआईसँगै हिँड्न सिक्नुपर्छ। सरकारले बेलैमा एआई सम्बन्धी कडा कानुन ल्याउने, प्रहरीलाई प्रविधिमैत्री बनाउने र विद्यालय तहदेखि नै एआई शिक्षा दिने हो भने, एआई खतरा होइन, नेपाल जस्तो विकासशील देशका लागि सबैभन्दा ठूलो अवसर बन्न सक्छ।





