दोलखा/
काठमाडौंको गौशालास्थित एक होटलबाट गत असोज २३ गते बेपत्ता भएका दोलखाको मेलुङ गाउँपालिका–१ पवटीकी आस्मा बस्नेत खड्का र उनका १० वर्षीय छोरा आदित्य खड्का दोलखाको तामाकोशी नदी किनारमा मृत अवस्थामा फेला परेका छन।भीमेश्वर नगरपालिका–५ स्थित भागेखोलानजिक तामाकोशी नदी किनारमा मंगलबार बिहान रुखको जरामा अड्किएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार शवको प्रकृति र हराइरहेका आमा–छोराको विवरण मिल्दोजुल्दो देखिएपछि परिवारका सदस्यलाई खबर गरिएको थियो। दोलखाको पवटीमा रहेका परिवारका सदस्य तथा छिमेकीले शवको पहिचान गरेपछि मृतक आस्मा र उनका छोरा आदित्य भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।पोर्चुगलमा रहेका आस्माका श्रीमान् दिनेश खड्का तीन वर्षपछि गत असोज २१ गते नेपाल आएका थिए। उनी नेपाल आएको केही दिनमै आमा–छोरा बेपत्ता भएका थिए। आस्मा विगत एक वर्षदेखि काठमाडौंमा कोठा भाडामा लिएर छोरालाई पढाउँदै बस्दै आएकी थिइन् । पारिवारिक स्रोतका अनुसार नेपाल आएपछि दिनेश र आस्मा असोज २१ गते कोठामा सँगै बसेका थिए। भोलिपल्ट आस्माले कोठामा नबस्ने भन्दै निस्किएपछि उनीहरू गौशालास्थित एउटा होटलमा बसेका थिए। असोज २३ गते बिहान आस्मा छोरालाई लिएर पानी लिन जाने भन्दै होटलबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। आमा–छोरा बेपत्ता भएपछि श्रीमान् र आफन्तले काठमाडौंका विभिन्न स्थानमा खोजी गरिरहेका थिए।मृतकका मामाहरू काठमाडौंबाट आएपछि शवको पोस्टमार्टम गरी परिवारलाई बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनाको वास्तविक कारण भने प्रहरी अनुसन्धान र पोस्टमार्टमको प्रतिवेदनपछि मात्रै स्पष्ट हुने छ ।






