काठमाडौं /
नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले स्पेनमा रहेका नेपालीहरू चरम श्रम शोषणमा परेको तथ्य औंल्याउँदै तत्काल कुटनीतिक पहलकदमी बढाउन आग्रह गर्नु भएको छ । मङ्गलवार स्पेनका लागि प्रश्तावित राजदुत प्राप्ति शेरचनको सुनुवाईका क्रममा उहाँले स्पेनमा झन्डै ८० हजार नेपाली पुगे पनि अधिकांश गैरकानूनी र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले श्रमिक सुरक्षा तथा कन्सुलर सेवालाई चुस्त बनाउनुपर्ने विषय संसदीय सुनुवाइ समितिमा बताउनु छ । उहाँकाअनुसार स्पेन सरकार र नेपाली दुतावासको औपचारिक अभिलेखमा आठदेखि नौ हजार नेपाली मात्र दर्ता छन् । यद्यपि, पूर्वी युरोप हुँदै स्पेन प्रवेश गर्ने नेपालीहरूको यथार्थ सङ्ख्या ७० देखि ८० हजार पुगिसकेको अनुमान छ । यकिन तथ्याङ्कको अभाव र कागजातविहीन स्थितिका कारण नेपाली श्रमिकहरू गम्भीर श्रम शोषण तथा मानव तस्करीको चपेटामा पर्ने गरेको उहाँले बताउनुभयो ।






