काठमाडौं/
सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा हुने दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ मङ्गलबारदेखि विराटनगरस्थित बिग होटलमा सुरु हुँदैछ । कोशी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेशीय समन्वय, संघीयताको संस्थागत सुदृढीकरण तथा विकास साझेदारीका साझा एजेन्डामा केन्द्रित सम्मेलनमा दुई दिनसम्म सघन छलफल गरी ‘कोशी घोषणा–२०८३’ जारी गर्ने कार्यतालिका तय गरिएको छ । सातै प्रदेशबीचको सम्बन्ध प्रगाढ बनाउने तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।सम्मेलनको पहिलो दिन आज बिहान ९ बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा उद्घाटन सत्र हुनेछ । उद्घाटन सत्रमा कोशी प्रदेशका सभामुख तथा सातै प्रदेशका मुख्यमन्त्रीहरूले शुभकामना मन्तव्य राख्नेछन् भने प्रदेश योजना आयोगका उपाध्यक्षले कार्यक्रमको अवधारणा प्रस्तुत गर्नेछन् ।त्यसपछि बिहान ११ः२० बजेदेखि सुरु हुने दोस्रो सत्रमा सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरू र कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकारले आआफ्ना प्रदेशका प्रमुख उपलब्धि, नवीन अभ्यास, सफल कार्यक्रम तथा सिकाइ प्रस्तुत गर्ने कार्यतालिका छ ।दिउँसो २ बजेदेखि सुरु हुने विषयगत सत्रमा संघीयता र विकास साझेदारीसम्बन्धी दुई महत्त्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।






