काठमाडौं/
बडादसैँको नवरात्रअन्तर्गत आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिँदैछ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनले श्रद्धापूर्वक पूजाआजा गर्ने परम्परा छ।धार्मिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र हातमा घण्टा धारण गरेकी देवीलाई चन्द्रघण्टा भनिएको हो। पहेँलो वर्णकी यी देवीलाई शक्ति, साहस र करुणाको प्रतीकका रूपमा लिने गरिन्छ। नवरात्रमा चन्द्रघण्टाको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ।नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो ।चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।






