काठमाडौं /
नेपाल पूर्वाधार पत्रकार समाजले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले काठमाडौं–तराई मधेस फास्टट्रयाक निर्माणमा नेपाली सेनाबाट गम्भीर गल्ति भएको आरोप लगाउनुभएको छ । उहाँले सेनाले यसअघि यस्तो प्रकृतिको आयोजना निर्माण नगरेकाले खरिद प्रक्रिया र सामग्री छनोटमा गल्ती गरेको हुनसक्ने बताउनुभएको हो ।उहाँकाअनुसार नेपाली सेनाले खुलाएका खरिद प्रक्रियामा केही दलालहरू छिरेका छन् । उनीहरूले कुनै निश्चित कम्पनी वा निश्चित किसिमको सामग्री नै चाहिने गरी स्पेसिफिकेसन राखिदिएछन् ।यसमा सेनाले समेत पत्तो पाएको छैन । जियोटेक्निकल लगायत प्राविधिक सामग्रीको स्पेसिफिकेसन तयार गर्दा कुनै एउटा कम्पनी वा ब्राण्डको सामग्री मात्रै अनिवार्य हुने गरी तोक्न मिल्दैन । त्यसको विकल्पमा समान गुणस्तरका अन्य सामग्रीलाई पनि प्रतिस्पर्धामा सहभागी गराउनुपर्ने हुन्छ ।बाथरुममा सोमानी कम्पनीको सामग्री राख्न मन लाग्यो भने पनि सोमानी वा अन्य समकक्ष भनेर स्पेसिफिकेसन राख्नुपर्छ । तर फस्ट ट्रयाकको खरिदमा कुनै निश्चित कम्पनीकै सामग्री चाहिने गरी स्पेसिफिकेसन राखिएको थापाले खुलाउनु भयो ।यस्तो प्रावधानले खरिद प्रक्रिया प्रभावित हुनुका साथै आयोजना निर्माणमा समेत ढिलाइ भएको थापाको भनाइ छ । थापाकाअनुसार डिजाइन स्वीकृतिमा भएको ढिलाइका कारण निर्माण व्यवसायीमाथि जरिवाना लगाइएको विषयले पनि फास्टट्रयाक निर्माण प्रभावित भएको छ । डिजाइन स्वीकृतिमा ढिलाइ भए पनि निर्माण व्यवसायीलाई एलडी लिक्विडेटेड ड्यामेज लगाइएको र त्यसले उनीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्था छ । त्यसपछि निर्माण व्यवसायीको क्यास फ्लोमा समस्या आएर कामप्रतिको तदारुकता घटेको उहाँको भनाइ छ ।






