काठमाडौं/
आईतवारबाट काठमाडौंको खुला मञ्चमा शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसदको गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति अनिवार्य रहेको बताउनुभएको छ । थापाले संसद अहिले अवरुद्ध र बन्द अवस्थामा रहेको टिप्पणी गर्दै प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने र नगर्ने दुवै पक्षका सांसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।। थापाले केवल संसद मात्र होइन, समाजका विभिन्न तप्कामा पनि संवादको संस्कृति हराएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहाड र मधेस, जातजाति र धर्मका नाममा हुने टीकाटिप्पणी भन्दा पनि एकले अर्कासँग गर्ने संवाद नै आजको आवश्यकता भएको औंल्याउनुभयो । उहाँले आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा आवश्यक छन् । सबैभन्दा पहिले, खुला मञ्च संसद्भित्र चाहिएको छ । संसद् त्यतिबेला मात्र साँच्चिकै खुला हुन्छ, जब आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने सबै सांसदप्रति, संसद्को गरिमा र जनताको सम्मानका लागि प्रधानमन्त्रीको उत्तरदायी उपस्थिति रहन्छ । त्यसैगरी, समुदायका बीचमा पनि खुला मञ्च चाहिएको छ ।पहाडले मधेसका बारेमा होइन, पहाड र मधेसबीच संवाद हुनुपर्छ । एउटा जातले अर्को जातका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ । एउटा धर्मले अर्को धर्मका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ । एउटा पुस्ताले अर्को पुस्ताका बारेमा फैसला सुनाउने होइन, पुस्ताहरूबीच संवाद हुनुपर्छ ।






