काठमाडौं/
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु हुने १५औँ महाधिवेशनमा नजाने भएका छन्। कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा निमन्त्रणा गरेको थियो।१५औँ महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई हिजो औपचारिक निम्ता दिएको थियो। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर हिजो सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरु देउवा निवास महाराजगञ्ज पुगेका थिए। प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको महाधिवेशनलाई नेता छान्ने अधिवेशनका रूपमा मात्रै सीमित नगर्ने बताएको छ। ‘नेता छनोटभन्दा नीति छनोटलाई प्राथमिकता दिएका छौं,’ चालिसेले भने, ‘पदाधिकारी चयन सकेसम्म सर्वसम्मत रूपमा गर्ने प्रयास भइरहेको छ। प्रवक्ता चालिसेले कांग्रेसको विधान र परम्पराअनुसार पार्टी सभापतिले नै महाधिवेशन उद्घाटन गर्ने प्रचलन रहेकाले पूर्वसभापति शेरबहादुर देउवालाई उद्घाटनका लागि आग्रह गरिएको उनले जानकारी दिए। देउवा उपस्थित हुन नसके वर्तमान सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्ने तयारी रहेको उनले बताए।






