काठमाडौं/
कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन हुँदै छ । १६ असोजमा निर्धारण गरिएको महाधिवेशन प्रतिकूल मौसमका कारण दुई दिनपछाडि सारिएको हो ।नयाँ तालिका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ता शुक्रबार र शनिबार गरिने छ । १९ र २० असोजमा बन्दसत्र तथा असोज २१ र २२ मा निर्वाचन गर्ने गरी कार्यतालिका निर्धारण गरिएको छ ।महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय पदाधिकारी र सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भएको छ । जसका लागि नेताहरूले भेटघाट र परामर्श बाक्लो बनाउन थालेका छन् ।सभापतिमा गगनकुमार थापालाई १५ औँ महाधिवेशनबाट सभापति बनाउन युवा पुस्ताका नेता सक्रिय देखिन्छन् । कांग्रेस महामन्त्री गुरुराज घिमिरेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उद्घाटन सत्रदेखि निर्वाचन कार्यक्रमसम्मको तयारीमा सम्बन्धित समिति सक्रिय रहेको उहाँले जानकारी दिनुभयो ।कांग्रेसमा प्रतिनिधि चयनसँगै पदाधिकारीमा आकांक्षी बढ्दै गएका छन्। सभापतिमा सीमित नेताहरूको दाबी सार्वजनिक भइरहेका बेला महामन्त्री, उपसभापति र सहमहामन्त्रीका आकांक्षीहरूको उम्मेदवारी नै घोषणा गर्न थालेका छन्। सभापति पदमा गगनकुमार थापाको नेतृत्व कायम राख्ने तयारी छ। तर, पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि सभापति पदको तस्बिर पूर्णरूपमा एकल दाबीमा सीमित छैन।सभापतिको प्रतिस्पर्धासँग जोडिएको अर्को विषय कांग्रेसभित्रको पुरानो समूहगत समीकरण हो। विशेष महाधिवेशनपछि पूर्वसभापति शेरबहादुर देउवा समूहका केही नेताहरू थापा नेतृत्वको प्रक्रियामा सहभागी भएका छन् भने देउवा पक्षले छुट्टै महाधिवेशनको तयारीसमेत अघि बढाएको छ।






