मनाङ/
मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा पुरिएर सम्पर्कविहीन भएका १६ जनामध्ये १५ जनाको शव फेला परेको छ ।उद्धार टोलीले बिहीबार थप आठ जनाको शव निकालेसँगै अब एक जनाको मात्रै शव भेटिन बाँकी रहेको हो ।नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीएको विशेषज्ञ खोज तथा उद्धार टोलीले कठिन परिस्थितिका बिच बिहीबार आधार शिविर क्षेत्रबाट आठ वटा शव फेला पारेको हो ।बिहीबार भेटिएका शवमध्ये छ वटा फु गाउँमा र दुई वटा सदरमुकाम चामेमा हेलिकोप्टरमार्फत ल्याइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ल्याइएका शवहरूको आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ ।अझै पनि सम्पर्कविहीन रहेका अन्तिम एक जना हिमालयन होलिडेजका सदस्य हुन् ।प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका बिच अन्तर्राष्ट्रिय पर्वतीय महासंघ ९आईएफएमजीए०का माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा खटिएको टोलीले बाँकी एक जनाको खोजी कार्यलाई तीव्र बनाएको छ ।






