एएफपी/
मलेशियाले झन्डै १ हजार ५०० जना रोहिङ्ग्या शरणार्थीहरूलाई म्यानमार फर्काउन थाले पछी संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन् ।यो म्यानमारका ५ हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले जनाएको छ ।मानव अधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।म्यानमारमा सन् २०२१ देखि चलिरहेको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाइ छ ।पहिलो समूहमा कति रोहिङ्ग्या छन् भन्नेबारे मलेशिया र म्यानमारले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन् । संयुक्त राष्ट्रसङ्घका अनुसार मलेशियामा रहेका झन्डै १ लाख ९० हजार म्यानमारका शरणार्थी तथा शरण खोजिरहेका व्यक्तिमध्ये झन्डै दुईतिहाइ रोहिङ्ग्या छन् ।२०१७ मा भएको सैन्य कारबाहीपछि लाखौँ रोहिङ्ग्या म्यानमारबाट विस्थापित भएका थिए । मानव अधिकार संस्थाहरूले भने म्यानमारको वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्वदेश फिर्ता प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।






