काठमाडौँ/
सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २ करोड ७ लाख अमेरिकी डलर अर्थात् ३ अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ । कमला–ढल्केबर–पथलैया सडक खण्ड, गर्जाङ खोला र बलेफी खोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको हो ।मन्त्रिपरिषद् बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापनसमेत गरेको छ । आवास श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव र डा. जगदीश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ ।






