काठमाडौं /
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागिएका १०५ ग्यास बुलेट बाटोमै थुनिएका छन् । बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन् ।ती बुलेट बाटो खुल्नासाथ उपत्यकामा भित्रिने तयारी अवस्थामा रहेको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले वर्षाका कारण १०५ बुलेट बाटोमै रोकिएको जानकारी दिनुभयो । भारतबाट ग्यास ल्याउन कुनै पनि समस्या छैन, बरौनी, पारादीप, हल्दियालगायत स्थानबाट ग्यास लोड भएका बुलेट चितवन र हेटौँडा आसपास नै आइसकेका छन्,” ठाकुरले भन्नुभयो, “कृष्णभिर र धादिङका अन्य स्थानमा गएको पहिरो पन्छाउनेबित्तिकै ग्यास बुलेट आउन सुरु हुन्छ ।” बाटो खुल्नसाथ ग्यासको आयात नियमित भई बजारमा ग्यास वितरण हुने भएकाले उपभोक्तालाई नआत्तिन ठाकुरले अनुरोध गर्नुभयो ।काठमाडौँ उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका बुलेट वीरगन्ज भन्सार क्लियर भइसकेका छन्, कोही चितवनको रामनगरमा, कोही हेटौँडामा त कोही अन्य सुरक्षित स्थानमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा रोकिएर बसेको निगमले जनाएको छ ।






