काठमाडौं/
भारी वर्षाका कारण देशभरका अधिकांश विद्यालय बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले बाढी तथा पहिरोको जोखिम देखिएको भन्दै बिहीबार र शुक्रबार विद्यालय बन्द गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेपछि विद्यालय बन्द गरिएका हुन्।मन्त्रालयको अनुरोध पत्रमा भनिएको छ, ‘यही २०८३ असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको जानकारी जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट पूर्वानुमान भएको छ। यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत र सञ्चार सेवामा अवरोध हुने जोखिम रहन्छ। तसर्थ यो अवधिलाई त्रासभन्दा पनि पूर्वतयारीसहित सावधानीमा उपयोग गर्नु बुद्धिपूर्ण रहने हुनाले सबै शिक्षण संस्था, स्थानीय तह, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा आवश्यक समन्वय र सहजीकरण गर्नुहुन अनुरोध छ।’






