काठमाडौं /
विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कानुनी व्यवस्थाबारे अध्ययनका लागि निर्वाचन आयोगले गठन गरेको समितिले काम तीव्र बनाएको छ । वर्तमान सरकारको सयबुँदे कार्ययोजना अन्तर्गत विदेशमा बस्ने नेपाली नागरिकलाई मतदान गर्ने अधिकार प्रदान गर्न विषयलाई प्राथमिकतामा राखिएको थियो । समितिले प्रविधिका विभिन्न क्षेत्रमा काम गर्ने विज्ञहरूसँग विदेशबाट मतदान गर्ने सम्भावित प्रविधिबारे छलफल गरेको छ । उहाँले भन्नुभयो, “विदेशमा बस्ने नेपालीलाई मताधिकार दिनेबारे बहस चलेको धेरै भइसक्यो । त्यसलाई कसरी मूर्त रूप दिन सकिन्छ भनेर प्राविधिक पक्षसँग छलफल गरेका छौँ । विभिन्न राजनीतिक दलसँग छलफल तथा अध्ययन गरेर ठोस निष्कर्ष दिने गरी काम अघि बढिरहेको छ ।” उहाँले आवश्यक कानुनी प्रबन्धको पहिचान गरी आयोगसमक्ष निर्धारित ३० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी काम भइरहेको बताउनुभयो ।निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा गठित समितिले २०६८ सालको ‘विदेशमा रहेका नेपालीको मतादानबारे तयार भएको प्रतिवेदन’ तथा २०७४ सालमा सर्वोच्च अदालतबाट यसबारे भएको फैसला अध्ययन थालेको छ । साथै गत निर्वाचनका बेला विभिन्न राजनीतिक दलले आफ्नो दलको घोषणापत्रमा यसबारे गरिएका प्रतिबद्धताको पनि अध्ययन थालिएको समितिका संयोजक एवं निर्वाचन आयुक्त वाग्लेले जानकारी दिनुभयो ।






