काठमाडौँ/
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लाको रहिम बजारमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर व्यापारिक भवन सपिङ प्लाजा निर्माण गर्न खोजिएको घटनाप्रति विश्व हिन्दू परिषद् नेपालले कडा आपत्ति जनाएको छ। परिषद्अन्तर्गतको मठ(मन्दिर, अर्चक तथा पुरोहित विभागले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भर्त्सना गरेको हो।जारी विज्ञप्तिमा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मन्दिरलाई व्यापारिक स्वार्थका लागि भत्काउने प्रयास गर्नु निन्दनीय र अमानवीय कार्य भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा धार्मिक आस्था, ऐतिहासिक पहिचान तथा सांस्कृतिक सम्पदामाथि हुने यस्ता आक्रमणले विश्वभरका सनातन धर्मावलम्बीहरूको भावनामा गम्भीर चोट पुर्याउनुका साथै धार्मिक स्वतन्त्रता र अल्पसंख्यक समुदायको अधिकारमाथि प्रश्न खडा गर्ने जनाइएको छ।स्थानीय हिन्दू समुदाय तथा नागरिक समाजका अभियन्ताहरूको विरोधपछि मन्दिर भत्काउने प्रयास रोकिएको र स्थानीय प्रशासन तथा इभाकुई ट्रस्ट प्रपर्टी बोर्डले मन्दिर सिल गरेको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। परिषद्ले मन्दिर भत्काउने प्रयास रोक्नु मात्र पर्याप्त नभएको भन्दै यसको दीर्घकालीन संरक्षण, सुरक्षा तथा जीर्णोद्धारका लागि ठोस व्यवस्था गर्न माग गरेको छ। विश्व हिन्दू परिषद् नेपालले ऐतिहासिक रामलीला मन्दिर भत्काउने प्रयासमा संलग्न व्यक्ति तथा समूहको निष्पक्ष छानबिन गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न पाकिस्तान सरकार तथा सम्बन्धित निकायसमक्ष माग गरेको छ।परिषद्ले मन्दिरलाई ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका रूपमा कानुनी संरक्षण प्रदान गर्न, यसको मौलिक स्वरूप कायम राख्दै आवश्यक जीर्णोद्धार गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न आग्रह गरेको छ।






