हेटौँडा/
हेटौँडा उपमहानगरपालिका–८, भावनामार्गस्थित घरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उहाँकी श्रीमती घाइते अवस्थामा भेटिएकी छन् ।शुक्रबार स्थानीय ४५ वर्षीय शंकर कार्की घरको दोस्रो तलामा पुरुष मृत फेला परेका हुन् । उहाँकी ४० वर्षीया श्रीमती चरिमाया कार्की भान्साकोठामा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार घटनाका बेला घरमा श्रीमान्–श्रीमती मात्र रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । चरिमायाको फोन नउठेपछि रामेछापमा रहेका माइती पक्षले हेटौँडा–९, लामसुरेमा बस्ने शंकरकी दिदी भवानी महतलाई खबर गरेका थिए । त्यसपछि भाइको घर पुगेकी महतले ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा भेटेपछि स्थानीयलाई जानकारी गराउनुभएको थियो ।स्थानीयबाट सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट हरियालीबाट प्रहरी सहायक निरीक्षक जादोलालप्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय तथा शंकरका दिदी–भिनाजुको रोहवरमा घरको ढोका फोडेर प्रवेश गर्दा शंकर फलामको डन्डीमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।सोही घरको भान्साकोठामा घाइते अवस्थामा भेटिएकी चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ । भान्साकोठाको ढोका बाहिरबाट चुकुल लगाइएको अवस्थामा भेटिएको प्रारम्भिक विवरणमा उल्लेख छ ।






