काठमाडौं/
साउदी अरबको सायबाह (शायबाह) तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। यस दुःखद घडीमा पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै कांग्रेसले मृतकको आत्माको चिरशान्तिको कामना गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार साउदी अरबको दक्षिण-पूर्वी मरुभूमि क्षेत्र रुब अल खालीमा रहेको साउदी अरामकोको सायबाह आयल फिल्डमा ड्रोन आक्रमण भएको थियो। साउदी सुरक्षा प्रणालीले ड्रोनलाई आकाशमै रोकेर खसालेको थियो, तर त्यसबाट खसेको भग्नावशेषले ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी भएको थियो। सो आगलागीमा परी एक जना नेपाली नागरिक र एक जना फिलिपिनो नागरिकको मृत्यु भएको छ भने एक जना पाकिस्तानी र एक जना भारतीय नागरिक घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयले घटनाले तेल क्षेत्रको सञ्चालनमा भने कुनै असर नपारेको जनाएको छ।






