काठमाडौं/
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कूल ४ सय १८ सिट थप्ने निर्णय गरेको छ।कूल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै सो निर्णय गरेको हो। चालु शैक्षिक सत्रका लागि यो सङ्ख्या गत वर्षभन्दा ४ सय १८ ले बढी हो। सिट निर्धारण प्रक्रियाका लागि देशभरका कूल ९० वटा शिक्षण संस्थाले स्व-मूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए। विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमनको प्रतिवेदनलाई आधार बनाएर ९० मध्ये ८४ वटा शिक्षण संस्थालाई यस वर्ष सिट निर्धारण गरिएको छ।आयोगका सदस्य सचिव हरि प्रसाद निरौलाका अनुसार,कार्यक्रमगत हिसाबले एमबीबीएसतर्फ गत वर्षको तुलनामा कूल ११० सिट वृद्धि गरिएको छ। जसअन्तर्गत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसका लागि ५० सिट प्राप्त गरेको छ।






