काठमाडौं/
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत आएको उजुरीका आधारमा विभागको र्यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले काठमाडौं महाराजगञ्जमा रहेको ‘मन्त्र थकाली’ ग्रिन तारा हस्पिटालिटी प्रालिलाई कारबाही गरिएको छ। टोलीले मन्त्र थकाली’को आकस्मिक निरीक्षण गरी २ लाख ५० हजार जरिवाना गरेको हो।उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। विभागका अनुसार अनुगमनका क्रममा भान्छा कोठा र फ्रिजको सरसफाइ अत्यन्तै अस्वस्थकर रहेको, पकाइएको खाद्य पदार्थ नछोपी राखिएको र भान्छा तथा फ्रिजमा साङ्ला एवं भुसुना जस्ता किटजन्य जीवहरू फेला परेको विभागले जनाएको छ। ड्रेनको सरसफाइ नभएको, डस्टबिन खुला राखिएको र स्वास्थ्यका लागि हानिकारक मानिने मसिजन्य कागज पत्रिकामा फ्राइड आलु भण्डारण गरिएको भेटिएको विभागले जनाएको छ।






