काठमाडौँ/
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार बिहान करिब ५ बजे बुढानीलकण्ठ –२, माथिल्लो भङ्गालस्थित उक्त घरबाट २१ किलो ७५० ग्राम सुनसहित तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि आवासीय घरलाई अवैध कारोबारको केन्द्र बनाइएको तथ्य सार्वजनिक भएको छ। सुन ओसारपसारमा नेपाली नम्बर प्लेटको गाडी प्रयोग गरिएको र त्यसैमार्फत बाहिर निस्कन खोज्दा उनीहरू प्रहरीको निगरानीमा परेको खुलेको छ। काठमाडौँको बुढानीलकण्ठमा विदेशमा बस्ने नेपालीको घर मासिक तीन लाख ३० हजार रुपियाँ भाडामा लिएर घरभित्र सुन गलाउने मेसिन, रसायन र प्रशोधनका उपकरण राखेर तीनजना चिनियाँ नागरिकले सुनलाई पुनः बजारमा पठाउन मिल्ने स्वरूपमा तयार पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका तीन जना, ठुलो परिमाणमा सुन तथा सुन प्रशोधन गर्न प्रयोग हुने उपकरण र रसायन प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन् ।कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काको अनुसार विशेष सूचनाका आधारमा केही समयदेखि उनीहरूमाथि निगरानी भइरहेको थियो । बिहीबार बिहान शङ्कास्पद गतिविधिसहित गाडीमा बाहिर निस्कन खोजेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

“





