काठमाडौँ/
महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पेश गरेका छन्।आगामी चार वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको उक्त प्रतिवेदनमा विगतको गम्भीर आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टी पुनर्संरचना, निजी क्षेत्रसँगको सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा प्रस्तुत गरिएको छ। प्रतिवेदनमा विगत दुई दशकमा कांग्रेसले आफ्नो मूल सिद्धान्तभन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। साथै, गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको उल्लेख छ। भ्रष्टाचार तथा अनियमिततामा आफ्नै मान्छे जोगाउने प्रवृत्तिले सार्वजनिक संस्थाहरूको स्वायत्तता खस्किएको र युवापुस्तासँग पार्टीको दूरी बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ।






