नवलपरासी/
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटना भएको हो ।बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा छ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको उहाँले जानकारी दिनुभयो । दुदर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।घाइते हुनेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी रहनुभएको छ ।






