काठमाडौँ/
राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक गोप्य प्रतिवेदन पेस गरेको छ। प्रधानमन्त्रीको मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले आन्दोलनको सम्भावना औंल्याउँदै लिखित प्रतिवेदन बुझाएका हुन्।प्रतिवेदन देशको आन्तरिक सुरक्षा चुनौती र मधेसका जिल्लाहरूमा देखिन सक्ने आन्दोलन तथा विरोध प्रदर्शनको अवस्था अनुमान गरेर तयार पारिएको छ। प्रधानमन्त्री कार्यालयमा पेस गरिएको प्रतिवेदनअनुसार नेपालीहरूको दसैं, तिहार र छठ पर्वपछि तराईका केही जिल्लाहरूमा सुरक्षा चुनौती बढ्न सक्ने उल्लेख छ।सम्भावित घटनाको विश्लेषण गरिएको प्रतिवेदन राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिव, गृहसचिव, राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनालाई समेत बुझाएको हो। विभागका अनुसार यो नियमित काम हो। अन्नपूर्णलाई प्राप्त सूचनाअनुसार केही दिनअघि नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेलले समेत देशमा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै गृह मन्त्रालयमा ब्रिफिङ गरेका थिए।






