काठमाडौं /
आज षष्टि तिथिदेखि तराई–मधेश महिलाले जितिया व्रत विधिवत् सुरू गरेका छन् । आज पोखरी वा तलाउमा गएर नुहाएर विधिवत् व्रतको प्रक्रिया सुरू गर्ने र शनिबार सप्तमा तिथिको दिन निराधार पानी पनि नखाई व्रत बस्ने छन् ।यस व्रतको अघिल्लो दिन महिला बिहानै उठेर घर आँगन लिपपोत गरेर चोखो पार्छन् । पिना, तेल, घिरौलाको पात, जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिला समूहमा पोखरी, नदि वा जलाशय गएर र पिनाले नुहाउँछन् । नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल चढाउने गर्छन् ।व्रतको पहिलो दिन अष्टमीको तिथिको दिन व्रतालु महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको सङ्कल्प लिन्छन् । व्रतालुले दिवङ्गत हजुरआमा सासूआमालगायत तीन पुस्ताभित्रको नाता पर्ने पितृ महिलालाई तर्पण दिने चलन छ । व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी अनिवार्य रूपमा खाने चलन छ । भोलिपल्ट बिहान ३ देखि ४ बजे व्रतालुले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा,चिनी, केरा, मिठाइ, पान, सुपारी चढाउने गर्छन् ।व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजाका सामग्री राखेर डाली भर्छन् । डालीलाई छोराले मानको पातले छोपिदिन्छ । व्रतको समय सकेपछि घरमा भएको छोरा, नातिले डाली खोल्ने गर्छन् । डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालु महिलाले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ ।






