काठमाडौं /
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले असोज २२ गते २१ त्रिबिसभा सदस्यलाई मात्र बोलाएर बैठक गर्ने तयारीको त्रिबिका बहुमत सिनेटरद्वारा विरोध गरेका छन् । राजनीतिक आबद्ध विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई त्रिवि सभासदस्य बनाउन नहुने कुलपतिको अडानपछि बैठकको लागि पत्र नपठाएको हो । नियमविपरित सिनेट बैठक बोलाएको आरोप लगाउदै नेपाल प्राध्यापक संघ, त्रिबि प्राध्यापक संघ, स्ववियु सभापति, त्रिबि कर्मचारी युनियनले संयुक्त रिट दर्ता गर्ने भएका छन् । उपकुलपति प्राडा थापाले सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा सिनेट बैठक डाकेको आरोप छ । बैठकमा कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नहुने निश्चित छ । सिनेट बैठकको अध्यक्षता कुलपतिले गर्ने कानुनी व्यवस्था छ ।कुलपति शाहले सहकुलपतिलाई अध्यक्षता गर्न निर्देशन दिइसक्नुभएको छ । नियममा बैठकको अध्यक्षता गर्ने र माइन्युटमा अनिवार्यरुपमा कुलपतिले हस्ताक्षर गर्ने व्यवस्था छ । अध्यक्ष एवं प्रधानमन्त्री र झण्डै १५ त्रिबिसभा सदस्यको उपस्थिति नहुने बैठक कानुन विपरित देखिन्छ । कानुन विपरित गर्न लागेको बैठक विरुद्ध रिट दायर गर्ने तयारीमा छौ–त्रिवि कर्मचारी युनियनका अध्यक्ष छत्र कार्कीले भन्नुभयो ।ऐनविपरित पदेन सदस्यलाईमात्र गोप्य पत्र पठाएर बैठक गर्ने तयारी छ । स्रोतका अनुसार सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री पोखरेलको अध्यक्षतामा बैठक बस्ने भएको छ । बैठकमा उपकुलपति, रेक्टर, रजिष्टार, ९ वटा संकाय डीन, ४ अनुसन्धान केन्द्र निर्देशक, शिक्षा र अर्थमन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका शिक्षाहेर्ने सदस्यलाई मात्र बैठकमा बोलाईएको छ । त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठान तथा नास्टका पदाधिकारीसहित अन्य विश्वविद्यालयका उप–कुलपतिहरूमध्येबाट दुई जना सदस्य रहने व्यवस्था छ । २८ जना सिनेटर नियुक्त हुनै बाँकी छ।






