काठमाडौं /
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पार्टीको हितविपरीत क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ।पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्मका कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन समितिले निर्देशन दिएको हो। समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका हुन्।समितिले निर्वाचन प्रक्रियामा संलग्न भइसकेपछि पनि कतिपय व्यक्तिहरू कांग्रेसकै नाममा पार्टी विरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको जनाएको छ। त्यस्ता गतिविधिहरूलाई अत्यन्त गम्भीरताका साथ निगरानी गरिरहेको उनले बताए।






