काठमाडौं /
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बेले कानूनी राज्यको उपहास गर्दै सरकारले आफ्नो शक्ति र संवैधानिक सीमा बिर्सिएको आरोप लगाउनुभएको छ ।उहाँले मध्यरातमा पूर्वप्रधानन्यायाधीशको पक्राउ, अर्थतन्त्रमा देखिएको निराशाजनक अवस्था र विपद् व्यवस्थापनमा सरकारको चरम असफलताप्रति आपत्ति जनाउनुभएको हो ।आङदेम्बेले कुनै ठोस आधार र कानूनी प्रक्रियाबिनै पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यताको उपहास भएको बताउनुभयो । अर्थतन्त्रको विषयमा सरकारको आलोचना गर्दै उहाँले लगानीमैत्री वातावरण बनाउनुको साटो निजी क्षेत्रलाई तर्साउने र अपराधीकै व्यवहार गर्ने प्रवृत्तिले देशको विकास ठप्प भएको जिकिर गर्नुभयो ।महँगी र कालोबजारीले नागरिकको जीवन कष्टकर बनेको उल्लेख गर्दै उहाँले चाडबाडको समयमा सरकारको उदासीनताले जनतामा थप निराशा पैदा गरेको बताउनुभयो । विपद् व्यवस्थापनमा देखिएको सरकारी कमजोरीप्रति असन्तुष्टि जनाउनुभयो ।






