काठमाडौं/
नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चित्ताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ।कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो।नेपालमा रासायनिक मल उत्पादन सुरु भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चित्ता सम्बन्धी विद्यमान कानुनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्नेछ।नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढिरहे पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चित्ताका सम्बन्धमा हालसम्म स्पष्ट कानुनी व्यवस्था नरहेको अवस्थामा आवश्यक कानुनी तथा नीतिगत बाटो पहिचान गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ।






