काठमाडौं/
१५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क नेपाली कांग्रेसले ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । आगामी १८ असोजदेखि हुने महाधिवेशनका प्रतिनिधिका लागि उक्त शुल्क तय गरिएको हो ।यसपटकको महाधिवेशनमा अघिल्लो पटकको तुलनामा करिब २ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । १४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए भने यसपटक करिब ७ हजार प्रतिनिधि हुने निर्वाचन समितिले जनाएको छ ।१४औँ महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना प्रतिनिधि चयन हुने व्यवस्था थियो । यसपटक विधान संशोधन गरी एक निर्वाचन क्षेत्रबाट ३३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ ।महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि होटलमा बसेबापतको शुल्क भने प्रतिनिधि आफैँले व्यहोर्नुपर्नेछ ।






