काठमाडौं/
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र चामल उद्योगीबिच गत भदौको अन्तिम साता भएको छलफलमा प्रतिबोरा चामल दुई सय रुपियाँसम्म घटाउन उद्योगी सहमत भएका थिए । उद्योगीले आफूहरूले गरेको प्रतिबद्धता अनुसार चामलको मूल्य नघटाएकाले उपभोक्ताले घटेको मूल्यमा चामल किन्न नपाएका हुन् ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अघिल्लो साता विभागका पदाधिकारी र नेपाल चामल, तेल, दाल उद्योग सङ्घबिच भएको छलफलमा चामलको मूल्य घटाउन सहमत भएका थिए । विभागका निर्देशक अनिल किराँतीले मन्त्रालय र विभागमा उद्योगीसँग छुट्टाछुट्टै भएको छलफलमा उद्योगी र व्यापारी मूल्य घटाउन सहमत भए पनि अनुगमनमा घटेको नपाइएको जानकारी दिनुभयो ।नेपाल खुद्रा व्यापार सङ्घले गएको तीन महिनादेखि लगातार बढेको चामल अहिलेसम्म नघटेको जनाएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले चामलको भाउ कुरामा घट्यो तर व्यवहारमा अहिलेसम्म नदेखिएको टिप्पणी गर्नुभयो । चामल उद्योगीहरूले १४ दिनपहिले नै सरकारसमक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता गरे पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा किन्न पाएका छैनन् ।






