काठमाडौं/
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पाँचथरमा आयोजित नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै सरकारको अपारदर्शी र अराजक कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन्। उनले सरकार लोकतन्त्रका सामान्य मूल्य, विधि र प्रक्रियाप्रति समेत गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनका अनुसार राज्यका निकाय स्थापित कानुन र प्रक्रियाअनुसार चल्नुपर्ने भए पनि वर्तमान सरकार त्यसविपरीत अघि बढिरहेको छ। सरकारका गतिविधि पारदर्शी नहुँदा नागरिकमा आशंका र निराशा बढ्दै गएको उनले बताएका छन्। ‘सरकार आफ्ना कुनै पनि क्रियाकलापलाई पारदर्शी बनाउन चाहँदैन,’ आङदेम्बेले भने, ‘पारदर्शिता र विधिको शासन कमजोर हुँदै गयो भने देश गम्भीर संकटतर्फ जान्छ।’उनले सरकारको कार्यशैलीले लोकतान्त्रिक व्यवस्थाकै मर्ममाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको बताए। सरकारका निर्णय र गतिविधि जनताप्रति जवाफदेही हुनुपर्नेमा त्यसको अभाव देखिएको उनको आरोप थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउ प्रकरणलाई लिएर पनि आङदेम्बेले सरकारमाथि प्रश्न उठाए। राणालाई रातारात पक्राउ गरिएको घटनाको प्रक्रिया पारदर्शी नभएको उनको दाबी थियो।






