अन्तर्राष्ट्रिय सञ्चारमाध्यम/
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङ्टनमा भएको उच्चस्तरीय वार्तामा अमेरिका–चीन व्यापार युद्धविरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ ।वार्ताका क्रममा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोऱ्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुँने धारणा राख्नुभएको खबरमा उल्लेख छ । दुवै देशबीच तनाव बढ्न नदिन सैन्य तथा उच्चस्तरीय संवाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ ।ह्वाइट हाउसमा हिजो भएको झण्डै तीन घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, इरान र अन्य रणनीतिक विषयमा छलफल भएको रोयटर्सले जनाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्धविरामलाई आउँदो ४ महिना अर्थात जनवरी १० सम्म लम्ब्याउने समझदारी भएको बताउनु भएको छ ।त्यस्तै, कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोडिएका विषय पनि वार्ताको प्रमुख एजेन्डामा छन् । इरानसँगको युद्ध तथा मध्यपूर्वको अवस्थाबारे पनि दुवै नेताबीच छलफल भएको छ । तर वार्ताबाट व्यापार, एआई र ताइवानजस्ता जटिल विषयमा कुनै ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।






