काठमाडौं/
असोज ९ देखि १२ गतेसम्म देशभर मेघगर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि नेपाल प्रहरीले सम्भावित बाढी, पहिरो र डुबानबाट जनधनको क्षति न्यूनीकरण तथा तत्काल उद्धारका लागि १० हजार ८५ जना प्रहरी जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ ।भारी वर्षाको अवधिमा सम्भावित विपद्को तत्काल प्रतिकार्य, सुरक्षा निकायबीच समन्वय र आवश्यक जनशक्ति परिचालनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कमाण्ड पोस्ट स्थापना गरी २४ घण्टा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिको व्यवस्था गरिएको नेपाल प्रहरीले जनाएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी चौकीस्तरसम्मका एकाइलाई आवश्यक उपकरणसहित तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राखिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।विपद् उद्धार तथा व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशी र सातवटै प्रदेशका विपद् व्यवस्थापन गुल्मबाट पाँच सय जना तथा विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण, उपत्यका प्रहरी विशेष सुरक्षा गणलगायतका एकाइबाट थप दुई हजार १२५ जना प्रहरीलाई आवश्यकता अनुसार तत्काल वा चरणबद्ध रूपमा परिचालन गर्न सक्ने गरी २४ घण्टा स्ट्याण्डबाईमा राखिएको छ ।






