धादिङ/
अविरल वर्षाका कारण बिहान केही स्थानमा पहिरो खसेर एकतर्फी सञ्चालन भएको धादिङको कृष्णभिर सडकखण्ड थप वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहीबार बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सो सडक खण्डमा सवारी सञ्चालन बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार अहिले कृष्णभिरमा दुवैतर्फ सवारीसाधन सञ्चालन भइरहेको छ । सडकको अवस्था निगरानी गर्न तथा वर्षाका कारण आउन सक्ने सम्भावित अवरोध तत्काल व्यवस्थापन गर्न प्राविधिक टोली, होल्डिङ सेन्टर, जेसीबीलगायतका उपकरण तथा प्रहरी टोली तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार भारी वर्षाका कारण सडकमा पुनः पहिरो खस्न सक्ने तथा सडकको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको हो । बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सडक बन्द गरेर सो अवधिमा सडकको अवस्था निरीक्षण तथा आवश्यक व्यवस्थापनको काम गरिने जनाइएको छ ।






